दैलेखः दैलेखमा चार वटा स्थानीय तहका २० हजार नागरिकहरूलाई कोरोना बिरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले यहाँका चार वटा स्थानीय तहहरू नारायण नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका,भगवतीमाई गाउँपालिका र गुराँस गाउँपालिकाका २० हजार नागरिकलाई खोप लगाउने तयारी गरेको हो ।
एउटा पालिकामा ५ हजारका दरले खोप लगाउने तयारी भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीले जानकारी दिएका छन् । नियमित खोप लगाएकालाई बुस्टर डोजको रूपमा फाइजर खोप लगाउन सकिने भएको छ । अन्यनागरिकहरूलाई समेत खोप लगाउन कुनै समस्या नभएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ । १२ वर्ष भन्दा माथि उमेरका नागरिकहरूले खोप सेवा लिन सक्ने कार्यालयले जानकारी दिएको छ । यही फागुन ६ देखि ८ गतेसम्म खोप अभियान सञ्चालनको तयारी भएको छ ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाही, नारायण नगरपालिकाका प्रमुख लोमन शर्मा, स्थानीय पत्रकार लगायतको उपस्थितिमा गरिएको छलफलमा सहभागीहरूले दैलेखका सबै पालिकाहरूमा खोप लगाउनुपर्ने र सबैलाई पुग्नेगरि सरकारले खोपको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन् ।






